विराटनगर : मध्यपहाडी संकल्प यात्राको क्रममा गत मङ्सिर २८ गते धनकुटाको लेगुवा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भयो । उक्त घटनाबारे सञ्चारमाध्यममा प्रकाशित भएपछि एमालेले ‘अतिरञ्जित प्रचार’ भन्दै आपत्ति जनायो ।
‘एउटा जड्याहाको अस्वाभाविक हर्कत कतिलाई समृद्धिका लागि संकल्प यात्राको अभुतपूर्व सफलता र त्यसले दिएको सन्देशबाट ध्यान अन्यत्र मोड्ने बहाना बनेको छ,’ एमाले महासचिव शंकर पोखरेलले लगत्तै सामाजिक सञ्जालमा लेखेका थिए, ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसबाट अभियानको सफलताले जलिरहेकाहरूको नियत भने उजागर भएको छ । हामी सचेत र स्पष्ट छौँ आफ्नो अभियान र उद्देश्यमा ।’
महासचिव पोखरेलले मात्रै होइन, एमालेका धेरै नेता तथा कार्यकर्ताले अध्यक्षमाथि आक्रमण नभएको जस्तै गरी एउटै खालको सन्देश प्रवाह गरे ।तर, एमालेले आधिकारिक रुपमा उक्त आक्रमणको विषयमा केही बोलेन । भिडियो भने भाइरल बनेको थियो । अध्यक्ष ओलीलाई आक्रमण प्रयास गर्ने धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का महेश राई भने अहिलेसम्म प्रहरीको हिरासतमा छन् । उनलाई अभद्र व्यवहारमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बिहीबार पुनः म्याद थप गरेको छ ।
धनकुटाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले ७ दिनको म्याद गुज्रिएपछि पुनः म्याद थप गरिएको जानकारी दिए । स्वागत गर्ने लाइनमा पुगेर महेशले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेको भिडियोमा देखिन्छ ।