सन्दीप लामिछानेविरुद्धको मुद्दा पेसीको पहिलो नम्बरमा

२०८० पुष ८, आईतवार

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेसी तोकिएको छ।

आजको पेसी सूचीमा उक्त मुद्दा पहिलो नम्बरमै परेको छ। आज (पुस ८ गते) मुद्दाको अन्तिम सुनुवाइ भए सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। यसअघि पनि फैसलाका लागि भनेर पटकपटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेन।

पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ।

पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार