हेटौँडा : उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बस्न बाध्य हुँदै आएका इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद शर्मा तिम्सिनाको उद्धार गरिएको छ ।
मानव सेवा आश्रमको मुख्य कार्यालय, हेटौँडाले उनलाई चितवनको खैरहनीस्थित अस्पतालबाट आज उद्धार गरेको हो । चितवनको खैरहनी नगरपालिका –११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना भएका ६४ वर्षीय तिम्सिना उपचारमा भएको खर्च तिर्न नसकेपछि गत ६ महिनादेखि अस्पतालमा नै बस्न बाध्य भएका थिए ।
मानव सेवा आश्रमले तिम्सिनाको उद्धारसँगै आश्रममा आश्रय र थप उपचार गरिदिने भएको छ । उद्धारपछि तिम्सिना हेटौँडा उपमहानगरपालिका –९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालयमा आश्रित रहेका थिए ।
आश्रमका सूचना प्रविधि अधिकारी निरज पटेलले आश्रयका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको पहलमा तिम्सिनाको उद्धार गरिएको जानकारी दिए । अस्पतालमा उपचार गर्दाको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएको हामीलाई सञ्चारमाध्यमबाट जानकारी पाएपछि अस्पताल प्रशासनसँग अस्पताललाई तिर्नुपर्ने शुल्कलायतका खर्च तिर्नु नपर्ने सहमति गरी उद्धार गरिएको आश्रमका सूचना प्रविधि अधिकारी पटेलले बताए ।
तिम्सिनाले भारतीय जेलमा लामो समय बिताएका थिए । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष उक्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि उपचार खर्च अस्पताललाई भुक्तानी गर्न नसक्दा घर ल्याउन नसकेको परिवारका सदस्यले बताउँदै आएका थिए ।
दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले उपचारका क्रममा अस्पतालमा ६ महिनाअघि नै सात लाख १५ हजार रुपियाँ खर्च भएकोमा तीन लाख रुपियाँ बुझाए पनि बाँकी चार लाख १५ हजार रुपियाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको बताएका थिए । तिम्सिनालाई भारतको उच्च अदालतको आदेशअनुसार दिइएको रकम पनि यसअघि नै उपचारमा खर्च भइसकेकाले परिवारका सदस्य थप उपचार खर्च भुक्तानीका लागि जुटाउन समस्यमा परेको थियो ।
ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा. गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको भन्दै शतप्रतिशत निको भने नभएको बताए । तिम्सिनाको अहिलेको अवस्था सामान्य रहेको बताउँदै आश्रमले थप उपचारमा सहयोग, समन्वय र सहजीकरण गर्ने सूचना प्रविधि अधिकारी पटेलले बताए । दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको थियो । उनी २० वर्ष उमेर हुँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थियो । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या अभियोगमा उहाँ जेल परेका थिए ।
तिम्सिनालाई २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएपछि विभिन्न सङ्घ संस्थाको पहलमा २०७७ साल चैत ८ गते इलामको लुम्बाकस्थित घर ल्याइएको थियो ।





