काठमाडौं : सर्लाहीको बरहथवामा शुक्रबार भएको प्रदर्शन र गोली लागेर एक जनाको मृत्यु भएको घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गरेको छ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो।
शुक्रबार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा झडप हुँदा गोली चलेर बरहथवा नगरपालिका-६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। कांग्रेसले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र उनका परिवारप्रति समवेदन प्रकट गरेको छ।
घटनाको छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न कांग्रेसले सरकारसँग माग गरेको छ। ‘साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।






