आमाको स्मृतिमा वडाध्यक्षले बनाए बाटो

२०८० पुष २२, आईतवार

स्याङ्जा : भीरकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामकाजी अधिकारीले आफ्नी आमाको स्मृतिमा बाटो बनाएका छन् । वडाध्यक्षको परोपकारी कामले गर्दा भीरकोट नगरपालिकाको एक पुरानो प्रतिष्ठित विद्यालय दहथुम माध्यमिक विद्यालयमा स्थापनाको ७१ वर्षपछि सडकमार्गको सहज पहुँच पुगेको छ । सिद्धार्थ राजमार्गबाट नजिकै भएर पनि सहज सडक मार्ग नभएकै कारण विद्यार्थीको रोजाइमा पर्न छोडेको विद्यालयमा विद्यालयका कार्यवहाक अध्यक्ष एवं वडा अध्यक्ष श्यामकाजी अधिकारीले व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हुन्।

भीरकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष अधिकारीले आफ्नो स्वर्गीय आमा शिरकुमारी अधिकारी र पिता देव बहादुर अधिकारीको स्मृतिमा दहथुम माध्यमिक विद्यालय जाने सडक निर्माण गरेका हो । आमाको पूण्यतिथीको अवसर पारेर निर्माण गरिएको सिद्धार्थ राजमार्ग देखि विद्यालयसम्म पुग्ने सडकको उद्घाटन समेत भएको छ । अधिकारीकी आमाको नवौं वार्षिक पूण्यतिथिको अवसरमा करिब ४ सय मिटर लामो सडक खण्डको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उद्घाटन गरे ।

सडक उद्घाटन गर्दै नगर प्रमुख कर्माचार्यले वडा अध्यक्ष अधिकारीको सत्प्रयासको प्रशंसा गरे । नगरले गर्नुपर्ने काम वडा अध्यक्षले व्यक्तिगत रुपमा गरेकोमा कर्माचार्यले धन्यवाद व्यक्त गरेका थिए । अरुहरुले पनि अधिकारीको जस्तै सामाजिक कार्यबाट आफ्नो वडा र समाजको हितमा काम गर्न सिक्नुपर्ने कर्माचार्यले बताए । विद्यालयसम्म पुग्ने पैदलमार्ग भएपनि यातायातको सहजता थिएन । सहज सडकमार्ग नहुँदा कतिपय अवस्थामा निर्माण कार्य गर्दा निर्माण सामाग्री बोक्नुपर्ने बाध्यता थियो ।

विद्यालयका प्रधानाध्यापक तोयनारायण कोइरालाले नयाँ पहुँच मार्ग छोटो र सजिलो रहेको बताए । उनले भने, ‘सडकको पहुँच त थियो तर अलिक अप्ठ्यारो थियो, ट्याक्टर हिड्न समेत गाह्रो हुने खालको, मर्मत गरिरहन पर्ने थियो । नयाँ पहुँच मार्ग सहज र छोटो छ । नगर प्रमुख ज्यूले आगामी आर्थिक वर्षमा थप स्तरोन्नति र ढलान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

वडा अध्यक्ष अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत जनप्रतिनिधीको हैसियतमा आफूले पाउने सेवा सुविधा विद्यालय र बालबालिकाको हितमा प्रयोग गरेको बताए । अधिकारीले आफ्नै व्यक्तिगत खर्चमा ४ दिनसम्म डोजर प्रयोग गरेर करिब ७० हजार बराबरको काम गरेको बताए । जग्गाधनीहरुसँगको समझदारी पश्चात सहज रुपमा विद्यालय पुग्न सकिने पहुँच मार्ग निर्माण भएको बताउँदै उनले थप स्तरोन्नति र ढलान भएपछि स्कुल बस सहज रुपमै विद्यालय पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसैगरी विद्यालय जाने पैदल मार्ग पनि पुनर्निर्माण गर्न लागिएको अधिकारीले बताए । पुनर्निर्माण गर्न लागिएको पैदल मार्गको पनि नगरप्रमुखबाट शिलान्यास गरिएको छ । वडाको २ लाख र विद्यालयको १ लाख तथा अन्य स्रोत गरी  करिब ४ लाख लागतमा रेलिङ सहितको स्तरीय पदमार्ग निर्माण गरिने अधिकारीले जानकारी दिए  । १ सय मिटर लामो पदमार्ग २ मिटर फराकिलो हुनेछ, ३ ठाउँमा फोहर मलाईका डस्टविनहरु पनि हुनेछन् भने दायाँबायाँ फूलहरु रोपिने छन् । बाटोमा भएका पुराना ढुंगा र सिमेन्ट प्रयोग गरी  मौलिकता पनि जोगिने गरी  पदमार्ग पुनर्निर्माण गरिने अधिकारीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार