काठमाडौँ : सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ। अन्तिम संस्कारको लागि केहीबेरअघि (सोमबार बिहान)बाट बरहथवामा साहको शवयात्रा सुरु भएको बरहथवा नगरपालिका- ६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले जानकारी दिए।स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले गएराति साहको शव घटनास्थलबाट उठाएका थिए।
बरहथवा घटनामा सहमति : गोली चलाउने प्रहरीलाई कारबाही, मृतकका एक नातेदारलाई रोजगारी राति नै मलंगवास्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि साहको शव परिवारजनले बुझेर बरहथवा- ६ स्थित घर लगेका थिए। गएको शुक्रबार दिउँसो स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर बरहथवा ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो। साहको केहीबेरपछि बरहथवा १ स्थित बागमती नदी किनारमा अन्तिम संस्कार गर्ने तयारी छ। उनको शवयात्रामा सयौँ स्थानीय सहभागी भएका छन्।





