काठमाडौँ : इन्डोनेसियामा एक फुटबल प्रतियोगिताका क्रममा निकै दुःखान्त घटना भएको छ । खेल भइरहँदा चट्याङ परेर मैदानमै एक खेलाडीको मृत्यु भएको समाचारमा जनाइएको छ । खेल भइरहँदा अचानक चट्याङ परेको थियो । चट्याङको चपेटामा परेका एक खेलाडी मैदानमै ढलेका थिए । त्यतिबेलासम्म उनको श्वाँस–प्रश्वाँस चलिरहेको थियो ।
तर, अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो । उक्त घटनाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘इन्डोनेसियामा फुटबल प्रतियोगिता भइरहँदा एक खेलाडी चट्याङको चपेटामा परेका छन्,’ सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) मा भिडियो सेयर गर्ने व्यक्तिले लेखेका छन् ।
उक्त भिडियोमा रङ्गशालामा फुटबल खेल भइरहेको देखिन्छ । खेल जारी रहँदा अचानक चट्याङ पर्छ र एक खेलाडी मैदानमा ढल्न पुग्छन् । त्यसपछि अन्य खेलाडी उनी भएतिर दौडिएको देखिन्छ । अर्को एक समाचारमा जनाइए अनुसार, त्यो घटना शनिबार साँझको हो । पश्चिम जाभाको सिलिवाङ्गी रङ्गशालामा साँझ ४ः२० बजे उक्त घटना भएको थियो ।
उक्त मैत्रीपूर्ण खेल एफसी बान्डुङ र एफबीआई सुबाङबिच खेलिएको थियो । चट्याङ लागेर मृत्यु हुने खेलाडीको नाम सेपताइन रहारजा भएको समाचारमा जनाइएको छ ।





