काठमाडौं : दाङको घोराहीमा बिहीबार बेलुका एकजना प्रहरीले प्रहरी नै रहेकी आफ्नी पत्नीलाई गोली हानी हत्या गरेको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको दामोदर चोकमा डिउटीमै रहेका बेला प्रहरी जवान धनमाया थापामगरलाई उनकै श्रीमान् प्रहरी सहायक हवल्दार यामबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर मारेका हुन्। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई गोली हान्न बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत यामबहादुर बिहीबार बेलुका साढे ८ बजेतिर मोटरसाइकल चढेर दामोदर चोक पुगेका थिए।
गोली हानेर भाग्दै गरेका यामबहादुरलाई प्रहरीले लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरेको थियो। उनका साथबाट लोड रहेको बेरेटा नाइन एमएम पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण विस्तृत रूपमा नखुलेको भए पनि उनीहरूबीच दाम्पत्य सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार धनमाया यामबहादुरसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा थिइन्। ‘धनमाया डिभोर्स गर्ने तयारीमा थिइन् भन्नेसम्म खुलेको छ’, डीएसपी मल्लले भने, ‘विस्तृत कुरा बुझ्न बाँकी छ।’ उनका अनुसार ३५ वर्षीय यामबहादुर र २६ वर्षीया धनमायाका एक छोरीसमेत छिन्।





