६ सय १४ किलो गाँजा सहित ५ जना पक्राउ

२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं : चितवनको राप्ती नगरपालिका-३ झुरझुरेबाट करिब ५ सय ४४ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन्। इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना३ख ६१२२ नम्बरको ट्रक र ना३ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकबाट ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।

सोही ट्रकका चालक रमेश नाथ र ना३ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल फरार ना३ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट करिब ७० किलो ६ सय ग्राम गाँजा सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पूर्णबहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन्।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो। साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार