धनगढी : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ ।
सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्नेछ । पार्टीभित्रको चरम गुटबन्दी, असमझदारीका कारण निकै ढिलो गरी मतदान सुरु भएको हो । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बिहीबार अनिश्चित कालका लागि सारिएको मतदान शुक्रबार ८ देखि दिउँसो १ बजेसम्म हुने जानकारी दिएका थिए । तर अझै मतपत्र नपुगेको बताइएको छ ।
जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, वर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुङ्गानाबिच प्रतिस्पर्धा हुँदै छ ।