नवलपरासी : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली युवाहरूलाई रुसी सेनामा भर्ती हुन नजान आग्रह गरेका छन्।
शनिबार पूर्वी नवलपरासीको कावासोती हात्तीखोरमा रहेको राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालयमा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको चौथो चरणको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
युवाहरूले नेपालमै केही गर्ने सोच बनाउनुपर्नेमा प्रधानसेनापति शर्माको जोड थियो। उनले भने, ‘विदेशी सेनामा कुनै पनि हालतमा नजानुहोला। रुसमा के भइरहेको छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यस्ता क्रियाकलापमा नलाग्न विशेष आग्रह गर्न चाहन्छु।’ उनले युवाहरूलाई सकारात्मक सोच लिई आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गरिरहन सल्लाह दिए।
यसैबीच कैलाली, कञ्चनपुर, बर्दिया, दाङ, नवलपरासीलगायत १६ जिल्लाका ११ र १२ कक्षामा अध्ययनरत ५ सय ६६ विद्यार्थीलाई एनसिसीको १८औँ सिनियर डिभिजनबाट शनिबार दीक्षित गरिएको छ। एक सय दिनको तालिम लिएर दीक्षित भएका विद्यार्थीहरूलाई प्रधानसेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
कार्यक्रममा नवलपुरका सुरक्षा निकायका प्रमुख, पूर्वसुरक्षाकर्मीहरू, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतको सहभागिता रहेको थियो। दीक्षित विद्यार्थीहरूले कार्यक्रममा ‘मार्च’ गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।





