रोम : तीनजना खेलाडीले रातो कार्ड पाएपछि लाजियो इटालियन सिरी ए मा एसी मिलानसँग पराजित भएको छ । नोआ ओकाफोरले ८८ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बनेको थियो ।
यसअघि खेलको ५७ औँ मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै लुका पेलेग्रिनी मैदान छाड्न बाध्य बनेका थिए । यसको फाइदा उठाउँदै ओकाफोरले खेलको अन्तिम समयमा मिलानका लागि विजयी गोल गरे । इन्जुरी समयमा एडमा मारुसिच र माटेयो गुएनडोजीले रातो कार्ड पाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलान ६ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए भने लाजियोका अन्य तीन खेलाडी पनि बुकिङमा परेका थिए । जीतपछि मिलान अङ्क तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा १३ अङ्कले पछि तेस्रो स्थानमा रहेको छ । लाजियो नवौँ स्थानमा सीमित छ ।





