काठमाडौं : केपी ओली कपको उपाधि दोस्रो पटक पनि मछिन्द्र एफसीले हात पारेको छ। शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल पेनाल्टी सुटआउट (ट्राइब्रेकर) मा गएको थियो।
खेलको पूरा अवधिसम्म गोल भएन। त्यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टिमा गएको थियो। पहिलो संस्करणमा पनि मछिन्द्रले पेनाल्टिबाटै जित निकालेको थियो मछिन्द्रका लागि सनिस श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन बिनोङ, क्रिस्टोभर चिजोभा, देवेन्द्र तामाङले गोल गरे।
एनआरटीका खेलाडी सरोज तामाङ, सन्जिब विष्ट, अभिषेक शेख, मोहित गुरुङले गोल गर्दा विनय गुरुङ गोल गर्नबाट चुके। प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।





