गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित : कमल थापा

२०८० फाल्गुन २६, शनिबार

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्तालोलुप ब्यबस्था प्रमाणित भएको बताएका छन्। पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठवन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएकोसमेत बताए।

के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो? भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे।

नेताहरुको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले सधैंको लागि देश छोडेर जाने लहर बढेको प्रति राज्य उदासिन भएकोसमेत आरोप लगाए। राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाई सँगै लैजानुपर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्नेसमेत दाबी गरे।

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न विचार मिल्नेहरुबीच तत्काल मोर्चा बनाउनुपर्नेमा जोड दिए। एक्लै एक्लै हिँड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितको लागि फराकिलो सोच र दूरदर्शिताको आवश्यकता औंल्याए। बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरु, उपाध्यक्ष तथा महामन्त्रीहरुले भावी कार्यक्रम र कार्य प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार