काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरूले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको सुनाए।
शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको उल्लेख गरे।
‘नयाँ सत्ता समीकरण मार्फत मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोसिस गर्नेछौँ’ उनले भने। वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचार विरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।





