मैले कुनै अवसर पाउनेबित्तिकै प्रचण्डको भाइ भन्ने आरोप लाग्छ : नारायण दाहाल

२०८० फाल्गुन २८, सोमबार

काठमाडौं : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदानका आधारमा उम्मेदवारी दिएको बताएका छन्।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आलोचना हुने गरेको भन्दै गुनासो गरे। उनले भने, ‘यो परिवारवाद होइन। यस्ता प्रश्नको उत्तर दिँदादिँदा मेरो कान पाक्यो, मुख थाक्यो। मैले पार्टीमा कुनै जिम्मेवारी पाउँदा यस्तो आरोप लाग्ने गरेको छ। सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन।”

आफू विसं २०३६ देखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको बताउँदै उनले भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे। “त्यसबेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नु पर्‍यो भनी किन प्रश्न नगरेको ?”, दाहालले प्रश्न गरे। त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले बताए।

“मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन”, दाहालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
1
+1
2
+1
0
+1
0

ताजा समाचार