बैंग्लुरु : वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर पछिल्लो विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अब रोयल च्यालेन्जर्स बैंग्लोरले आइतबार फाइनलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
राजधानी दिल्लीमा शुक्रबार भएको एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई रोमाञ्चक रूपमा ५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको आरसीबीको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । टोलीका लागि एलिस पेरीले सर्वाधिक ६६ रन बनाएकी थिइन् । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । जवाफमा मुम्बई इन्डियन्सले ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हरमनप्रीत कौरले सर्वाधिक ३३ रन बनाइन्। अमेलिया केरले २७ रनको योगदान दिएकी थिइन् ।
डब्लूपीएलको पहिलो सिजन (२०२३) को विजेता मुम्बई इन्डियन्सलाई फाइनलमा पुग्न अन्तिम ओभरमा १२ रन जोड्नु परेको थियो। तर आशा शोभनाको चुस्त बलिङका कारण टोलीले यो लक्ष्य हासिल गर्न सकेन । यस ओभरमा ६ रन मात्र बन्यो । यसरी आरसीबीले फाइनलमा आफ्नो स्थान पक्का गर्यो । यस पटकको डब्लूपीएल मा शीर्ष स्थानमा रहेका कारण दिल्ली क्यापिटल्स यसअघि नै फाइनलमा पुगेको छ । पछिल्लो पटक पनि दिल्ली क्यापिटल्स फाइनलमा पुगेको थियो ।
यस वर्षको डब्ल्यूपीएलमा जम्मा पाँच टोलीको सहभागिता रहेको थियो । यो प्रतियोगिता देशका दुई सहर बैंगलोर र दिल्लीमा मात्र आयोजना गरिएको हो । २३ फेब्रुअरीबाट सुरु भएको यस प्रतियोगिताको फाइनल आइतबार अर्थात् १७ मार्चमा दिल्लीमा हुनेछ ।