काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँबर, गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई दुई ठूला व्यक्तिमाथि अनुसन्धान थाल्न निर्देशन दिए। यो निर्देशनसँगै गृहमन्त्री लामिछानेले सुन तस्करीको प्रतिवेदन पनि सीआईबीको जिम्मा लगाए।
गृहमन्त्रीले सुन तस्करीमा माओवादी केन्द्रका उपाध्यक्ष एव पूर्व सभामुख कृष्णबहादुर महरामाथि र बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांस विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्। यसरी गृहमन्त्रीले नै निर्देशन दिएपछि सीआईबीलाई भने उनीहरुलाई बयान गराई अनुसन्धानको दायरमा ल्याउन सहज भएको छ।
यसअघि दुवै जना शंकाको घेरामा भए पनि अनुसन्धानमा आउन सकेका थिएनन्। महरा सुन तस्करीमा सरकारी साक्षी मात्र भएका थिए भने चौधरीबारे सीआईबी पर्ख र हेरको अवस्थामा थियो। तर अब गृहमन्त्रीको निर्देशनपछि उनीहरु दुवैमाथि अनुसन्धान अघि बढाउने सीआईबीले दाबी गरेको छ।