रामेछाप : नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफू पार्टी सभापति बन्ने दाबी गरेका छन्।
२०८२ सालमा हुने १५ औं महाधिवेशनबाट आफू सभापति हुने र फरक ढंगबाट पार्टी चलाउने उनको भनाइ छ। कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्ने हुन्छ। कांग्रेसले १४ औं महाधिवेशन २०७८ मंसिरमा गरेको थियो। फागुन ७ देखि १० गतेसम्म गोदावरीमा चलेको महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्तावमा २०८२ मा महाधिवेशन गर्ने विषय उल्लेख छ भने कार्यतालिका नै समावेश छ। कोइरालाले पार्टी सञ्चालन शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए।
रामेछापमा आइतबार भएको कार्यकर्ता भेटघाटमा बोल्दै कोइरालाले पार्टी सञ्चालन शैली समयानुकूल बनाउनुपर्ने बताए। ‘म पार्टी नेतृत्वका लागि अगाडि बढ्छु, सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ,’ कोइरालाले भने।