कास्की : कास्कीको मादीस्थित एक फार्मका सम्पूर्ण बाख्रा मरेका छन् । करिब तीन सय बाख्रा रहेको मादी गाउँपालिका–१२ लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बाख्रालाई क्रोनिक निमोनिया रोग लागेपछि सबै बाख्रा मरेका हुन् । घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र र्याल काट्न थालेपछि बाख्रा एकाएक झोक्राउँदै मर्न थालेको फार्म सञ्चालक नारायण बरालले बताए । उनकाअनुसार दुई सय ८० बाख्रामा तीन वटा मात्र बाख्रा जिउँदा छन् । ‘एक/डेढ महिनाको अन्तरालमा करिब तीन सय बाख्रा मरे’ उनले भने ।
पशु चिकित्सक ल्याएर जाँच गर्दा क्रोनिक निमोनिया पत्ता लागेको उनले बताए । पशु चिकित्सकलाई सम्पर्क गरेपछि बाख्राको घााटीमा इन्जेक्सन लगाए पनि सुधार नभएको उनले बताए । चिकित्सकको भनाई उदृत गर्दै उनले भने, ‘निमोनिया भएको हो घाँटीबाट इन्जेक्सन लगाएका छौं अरु विकल्प देखिएन ।’ करिब ५ करोडको लागतमा २०७४ बाट फार्म सञ्चालन गरेका बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको बताए ।
उनका अनुसार गतवर्ष यो समय ३८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यसवर्ष ५० लाख कमाउने लक्ष्य थियो । एउटा माउ बाख्रालाई डेढ, दुई लाखसम्म हालेर किनेको बताउँदै उनले भने, ‘अष्ट्रेलियन जातको बोएर बाख्रा हुन् । यसबाट आम्दानी राम्रो भएको थियो एकाएक रोग लागेपछि लगानी नै डु्ब्ने डर भयो ।’ यस फार्ममा चार जना कामदार छन् । नेपाल इन्स्यूरेन्स कम्पनीमा १०/१२ हजारको मात्र बीमा गरिएको सञ्चालक बरालले बताए । यस फार्मलाई पालिकाले सम्मानस्वरुप दुई वर्षअघि २ लाख रुपैयाँ दिएको थियो । ‘हालसम्म कहिकत्तैबाट अनुदान पाएको छैन’ उनले भने ।
मादी–१२ का वडा सदस्य मिलन ढकालले स्थानीय र प्रदेश सरकारसँग राहतको माग गरिएको बताए । बराल पेशाले शिक्षक हुन् । उनले सञ्चालन गरेको फार्म गाउँपालिकाकै नमुना रहेको ढकालको दाबी छ । ‘यही फार्मको सिको गर्दै गाउँका अरु युवाले पनि व्यावसायिक फार्म सञ्चालन गर्नुभएको छ’ उनले भने, ‘गाउँमा केही गर्नुपर्छ भन्ने जोशले युवा लागेका छन् । विपत्ले कहिलेकाँही अप्ठ्यारो परिस्थिति पार्छ ।’ कान्तिपुर





