काठमाडौं : २० दिन दिल्ली बसेर फर्केका व्यवसायी दुर्गा प्रसाईँले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम पनि दिए ।
प्रसाईँलाई सरकारले पक्राउ गर्न लागेको चर्चाबीच उनी दिल्ली पुगेका थिए । उनले दिल्ली जानुको कारण खुलाएनन् । उनी पहिलेभन्दा अझै आत्मविश्वासी र उत्तेजक रुपमा पत्रकारमाझ पेश भएका थिए ।
प्रसाईँले सुरुमा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे । १३ वर्षसम्म आफूलाई अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको उनको प्रतिक्रिया छ ।
‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा नय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद,’ उनले भने ।
प्रसाईँले अब एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए । ‘म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु । क्लियर कुरा यही हो,’ उनले भने । यति भनेपछि उनी सरकारविरुद्ध खनिए । आफ्ना अंगरक्षकलाई पक्राउ गरिएकोमा उनको चर्को आक्रोश थियो थियो ।





