काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको नयाँ नेतृत्वका लागि मतदान जारी छ। शुक्रबारदेखि सुरू भएको दसौं जिल्ला अधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान भइरहेको हो। आगामी नेतृत्वका लागि कमल नेपाल र होमनारायण श्रेष्ठले समूह बनाएर अध्यक्षमा उम्मेदवारी दिएका छन्। नेपालको समूहबाट उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन्।
त्यस्तै खुला उपसचिवमा शिवहरि सापकोटा र महिलातर्फ सुशीला पाख्रिनले उम्मेदवारी दिएकी छिन्। यता श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा विष्णुमणि आचार्य, सचिवमा यज्ञराज सापकोटाले उम्मेदवारी दिएका छन्। खुला उपसचिवतर्फ विजयकृष्ण श्रेष्ठ, महिलातर्फ शोभा कार्की उम्मेदवार बनेकी छन्। अधिवेशनले १०३ सदस्यीय कमिटी चयन गर्नेछ। त्यसमध्ये जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको छैन।
विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिइसकेका छन् भने पदाधिकारीसहित ४४ पदमा चुनाव भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ। अधिवेशनमा ५ सय ४७ जना प्रतिनिधि छन्।





