काठमाडौं : सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतबाट चैत १८ गते मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न अन्तरिम आदेश भएकाले उक्त निर्वाचन प्रकृया हाललाई स्थगित भएको हो ।
भोलि चैत २० गते सञ्चालन आयोजना हुन लागेको ३७ औं वार्षिक साधारण सभामा प्रस्ताव गरिएको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको निर्वाचन स्थगित भएको हो । बैंकले संस्थापक सेयरधनीसमूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित सभा आह्वान गरेको थियो ।
उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै उम्मेदवार समेत रहेका वरिष्ठ अधिवक्ता एवं प्राध्यापक ताराप्रसाद सापकोटाले निर्वाचन अधिकृतसमक्ष दाबी विरोध निवेदन पेस गरेका थिए । निर्वाचन अधिकृतले दाबी विरोध निवेदनको सुनुवाई नगरी अयोग्य भनिएका उम्मेदवारको नामसमेत राखेर अन्तिम नामावली प्रकाशन गरेपछि विवाद उत्पन्न भएको थियो ।






