संसद्‍मा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

२०८० चैत्र २०, मंगलवार

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार लामिछानेले संसद्‍मा आफ्ना सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने बताएका हुन् । ‘सदनमा उठेका कुरामा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष कांग्रेसले लामिछाने सहकारी रकम दुरुपयोगमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री लामिछानेले रोस्ट्रममा बोल्न गए संसद् अवरोध गर्ने रणनीति कांग्रेसले लिएको छ । लामिछानेले भने आफूमाथि उठेका प्रश्नको जवाफ संसद्‍मा दिन पाउनुपर्ने बताएका हुन् ।

त्यस्तै, सञ्चारमाध्यममा प्रश्न आउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको पनि लामिछानेको भनाइ छ । पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारीको बचत हिनामिनामा मुछिएको सम्बन्धमा सोधिएको प्रश्नमा लामिछानेले आत्तिन आवश्यक नरहेको बताएका हुन् ।

‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो,’ लामिछानेले भने, ‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो ।

होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’ सहकारी प्रकरणमा आफ्नो र पार्टीका नेताहरूको विषयमा आएका विषय हल्ला र अप्रमाणित भएको लामिछानेको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार