हुम्ला : जिल्लाको हिल्सा सिमकोट सडकको याल्वाङ खण्डमा दैनिक नौ घण्टा सडक बन्द हुने भएको छ। सडकको स्तरोन्नती कार्य जारी रहेका कारण सडक बन्द गरिएको हो।
इलिङदेखि याल्वाङ गौडासम्म सडकको निर्माण कार्य भइरहेको छ। सडक निर्माणको जिम्मा लिएको कुशेश्वर एचकेएम जनजागृती जेभीका स्थानीय प्रतिनिधि सरोज रावतले सडकको स्तरोन्नतीका लागि दैनिक नौ घण्टा सडक बन्द गर्ने गरिएको जानकारी दिए। उनका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ५ः३० बजेसम्म सडक बन्द गर्ने गरिएको छ। सो बाहेकको समयमा भने सडकलाई सुचारु रहने छ ।
स्थानीय प्रतिनिधि रावलले सडक बन्द गर्न पनि नहुँने र काम पनि अगाडि बढाउनै पर्ने भएका कारण दैनिक सडक बन्द गरेर निर्माण कार्य अगाडि बढाउनु परेको बताए। हाल याल्वाङ खण्डमा सडकको निर्माण कार्य धमाधम भइरहेको छ। हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अगाडि बढाउनकै लागि सडक बन्द गर्नुको अन्य बिकल्प नदेखिएको जनाएको छ। दिनभर निर्माण कम्पनीले काम गर्ने र बेलुका सडक मर्मत गरेर यातायात सुचारु गर्नुपर्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ।
उक्त खण्डको नौ किलो मिटर सडक निर्माणका लागि गत वर्ष चैत महिनामा निर्माण कम्पनी पक्षले सम्झौता गरेको भए पनि गत कात्तिक महिनाबाट निर्माण कार्य सुरु भएको थियो।





