काठमाडौं : प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले प्राप्त अस्थिर जनमत र गठबन्धन गरेर चुनावी मोर्चाबन्दी गरेका दलहरूले गरेको नागरिकप्रतिको बेइमानीका कारण संसद्मा सहभागी दलहरू सत्ता र गठबन्धन जोड घटाउमै रुमल्लिएका छन् । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसहितको नयाँ समीकरण बनाएको एक महिना नपुग्दै गठबन्धन परिवर्तनको अर्को खेल शुरू हुन थालेको हो ।
पाँचदलीय नयाँ सत्ता सहयात्रीबीच समेत कुरा नमिलिरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरू एमालेसँग सहकार्यको हात अघि बढाउने प्रयत्नमा लागेका छन् । वर्तमान सत्ता गठबन्धनले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताए । नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताए ।
उनले भने– ‘अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको छ । यो गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना छैन । विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको हो ।’देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ ।
हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ’, कोइरालाले भने– ‘स्टेबल गभर्मेन्ट दिन जरुरी छ । पहिलो संविधानसभाका बेला चार जना प्रधानमन्त्री कम्युनिस्टबाटै बन्नुभयो, तर संविधान बनेन । संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो । देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’
कोइरालाले यसअघि पनि वर्तमान सरकार लामो समय नरहने जिकिर गर्दै नेपाली कांग्रेस चाँडै सत्तामा आउने ठोकुवा गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्रै सत्ता उलटपुलट गरेर विश्वासको मतमा ह्याट्रिक गरेका छन् । उनले गत फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जनता पार्टी, नेकपा एस र जनमतलाई लिएर विश्वासको मत लिएका थिए । त्यसयता प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले सत्ता सहकार्यमा एमालेसँगको प्रयासलाई पूर्णता दिने गरी लागेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन् ।
सत्तामा पुग्ने नयाँ खेलअनुसार कांग्रेस–एमालेबीच गठबन्धनको प्रयत्नमा नेताहरू लागे पनि इलाम निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनसम्म नयाँ कुरा केही नभए पनि गठबन्धन परिवर्तनको खिचडी पाकिरहेको नै छ । एमालेसँग सरकारमा सहकार्य गर्नका लागि कांग्रेसका अधिकांश नेताहरू तयार देखिएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले पटकपटक वर्तमान सत्ता गठबन्धन लामो समय नरहने भन्दै कांग्रेसलाई सत्ताले पछ्याइरहेको बताउँदै आएका छन् । पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरे पनि नेताहरूले हरेक कार्यक्रममा कांग्रेस–एमालेबीचको सहकार्य प्राकृतिक न्यायको सिद्धान्तभित्र पर्ने नेताहरूले बताएका छन् ।
एमालेले पनि यसलाई मौन रूपमा स्वीकार गरेको छ । कांग्रेससँगको राजनीतिक सहकार्यलाई इंगित गर्दै नेकपा एमालेका एक नेताले भने– ‘हामी वामपन्थी एकताको कुरालाई बढी जोड दिन्छौं । तर, अहिलेको नयाँ सत्ता समीकरण वामपन्थी एकतालाई बलियो बनाउनेखालको छैन । प्रधानमन्त्री प्रचण्डप्रति विश्वासको संकट त्यत्तिकै भएकाले देशको आवश्यकतालाई हेरेर नयाँ राजनीतिक कोर्सबाट मुलुकलाई स्थिरता, विकास र समृद्धितिर लान सकिन्छ कि भन्ने बहस पनि चलिरहेको छ ।’ कांग्रेस–एमालेका दोस्रो तहका केही विश्वाससिला नेताहरूबीच अनौपचारिक वार्ता समिति नै बनाएर यो विषयमा छलफलहरू चलिरहेको विश्वस्त स्रोतको दाबी छ ।
कांग्रेस एमाले मिलेर बाँकी रहेको करिब चार वर्षको समय जनताका पक्षमा सदुपयोग गर्नु उचित हुने एमाले–कांग्रेसका आम कार्यकर्ताको भावना छ । त्यस्तै, यही अस्थिरतालाई सधंै राख्न नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् । २०७९ मंसिरमा भएको आम निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थिरतासँगै जनताको सेवाप्रवाह, विकास निर्माण र आर्थिक, सामाजिक, सुशासनको पक्षमा उभ्याउने प्रतिबद्धता गरेका दलहरूले निर्वाचनलगत्तै नयाँ सरकार बनाउने बेलामा जनमतमाथि लात हानेर अस्थिरतालाई प्रश्रय दिएको राजनीतिक विश्लेषक विष्णु पन्थीले बताए।
जीवन शर्मा, उनले भने– ‘पहिलो कुरा सरकार बनाउन आवश्यक बहुमत कुनै दलले पाएनन् र कम्तीमा पाँच दल जोडेर मात्रै सरकार निर्माण सम्भव हुने अवस्था आयो, यो एउटा अस्थिरताको कारण हो । तर, त्योभन्दा ठूलो गल्ती राजनीतिक दलहरूले नै गरेका छन् । चुनावअघि पाँच वर्ष गठबन्धन कायम गरेर सरकार सञ्चालन गर्ने र राजनीतिक स्थिरतासँगै जनताको सेवाप्रवाह, विकास निर्माण र आर्थिक, सामाजिक, सुशासनको पक्षमा उभ्याउने प्रतिबद्धताप्रति नेताले जनतालाई ढाँटेका छन् । राजनीतिक पार्टीका नेताहरूले गैरराजनीतिक चरित्र प्रदर्श गर्नु नै अस्थिर सत्ता राजनीतिको चपेटामा मुलुक परिसकेको छ । यसको विकल्पमा ठूला दलहरू मिलेर बाँकी कार्यकाल सरकार चलाउँदा ठिकै हुन्छ ।’





