काठमाडौं : जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ।
मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि बिहीबारदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच गरी परीक्षण सफल भएपछि वितरण गरिने उनले बताए। “जर्मनी नै पठाएर परीक्षण हुन्छ,” उनले भने। योसँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ। १२ लाख कार्ड विभागसँग छ। तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ।
जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ। कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन।





