ढालियो बिस्केटको लिङ्गो

२०८१ बैशाख २, आईतवार

भक्तपुर : भक्तपुरको प्रसिद्द बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ। तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी शनिबार साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो। बिस्केट जात्राको चौथो दिन शुक्रबार साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो शनिबार दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो।

कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो। लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने इतिहाासविद् एवं संस्कृतिकर्मी डा. पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए। भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ। लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार