
ओखलढुङ्गा : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीन रुपमा अन्त्य गरिने बताएका छन्। ओखलढुङ्गामा आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुने गरी सरकारले काम गरिरहेको बताएका हुन्।
मन्त्री राईले देशका कतिपय ठाउँमा अझै खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घर-घरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जाकारी दिए।
‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी काम गरिरहेको छु। घर-घरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ।’ उनले भने।
उनले खाने पानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरिने बताए। स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आम नागरिक र सबै सरोकारवाला सचेत हुनुपर्नेमा उनले जोड दिए। आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो। रासस