आँधी र बाढीका कारण ३ सय जनाको मृत्यु

२०८१ बैशाख २९, शनिबार

काठमाडौँ : अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अफगानिस्तानमा राष्ट्रसङ्घीय एजेन्सी डब्ल्युएफपीका सञ्चार अधिकारी राणा डेराजले भने, ‘हालको जानकारीमा बघलान प्रान्तमा तीन सय ११ जनाको मृत्यु, दुई हजार ११ घर नष्ट भएको र दुई हजार आठ सय घर क्षतिग्रस्त भएका छन्।’ अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेकाे बताएका छन्। शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको छ।

बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले बताएको छ। आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्याङ्क उद्धृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताए।

सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयु वरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाएका थिए। शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताएका छन्। रक्षा मन्त्रालयका अनुसार आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसहरूलाई बचाउन हतारिएका छन्। मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्याएको छ।

उत्तरी तखर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन विभागका प्रमुख अहमद सेयर साजिदले बाढीमा २० जनाको मृत्यु भएको अनुमान गरेका छन्। रक्षा मन्त्रालयले धेरै शाखाहरूलाई सबै उपलब्ध स्रोतहरूका साथ यस घटनाबाट पीडितहरूलाई कुनै पनि प्रकारको सहायता प्रदान गर्न आदेश दिएको छ। वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान सुरु गरेको र सयभन्दा बढी घाइतेहरूलाई अस्पतालमा सारिएको बताएको छ। बाढी प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावित मानिसहरूलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ।

सामाजिक सञ्जालमा शुक्रबार देखिएको भिडियो फुटेजमा सेतो र कालो कपडाले ढाकिएका शवहरू र सडकहरूमा माटो र पानीको दलदलको देखाइएको छ। एउटा भिडियो क्लिपमा बच्चाहरू रोइरहेका सुनिन्छन् र मानिसको समूहले बाढीको पानी हेरिरहेका छन्, जसमा घरहरूबाट भाँचिएको काठ र भग्नावशेषको टुक्रा देख्न सकिन्छ। अधिकारीहरूका अनुसार अप्रिलको मध्यदेखि आकस्मिकरूपमा आएको बाढी र अन्य बाढीले अफगानिस्तानका दश वटा प्रान्तमा लगभग एक सय जनाको ज्यान लिएको थियो।

करिब चार करोडभन्दा बढी जनसङ्ख्यामध्ये ८० प्रतिशत बाँच्नका लागि कृषिमा निर्भर रहेको देशमा कृषिभूमि बाढीले दलदल बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार