गाउँमा पुरुष नभएपछि मलामी जाँदै महिला

२०८१ बैशाख ३०, आईतवार

कालीकोट : सुन्दा कसैलाई अचम्म लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैन । बढ्दो बेरोजगारीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन् ।

गत बिहीबार जिल्लाको रास्कोट नगरपालिका– ६ का धोचे दर्जिको ६५ वर्षीया श्रीमती  नौरता दर्जीको निधन भयो । गाउँमा पुरुष नभएका कारण नौरताको अन्त्येष्टिमा महिला पुगे । गाउँमा रोजगारी नभएका कारण युवादेखि बहिस्क उमेरसम्मका पुरुष गाउँभन्दा बाहिर छन् । वडा नं ६ का महेश फर्सालले गाउँमा पुरुष नहुँदा अन्य उमेर समूहका नागरिकले सास्ती झेल्नुपरेको बताए । गाउँमा पुरुषको नाममा ७० वर्ष पार गरेका वृद्ध मात्र छन् । उहाँहरु मलामी जान सक्ने अवस्थामा हुनुहुन्न । त्यसैले गर्दा महिलाहरु नै मलामी जानुपर्ने बाध्याता भएको फर्सालको भनाइ छ ।

फर्सालले भने, ‘‘सङ्घीय संरचनाभन्दा अगाडि गाउँमा रोजगारी थियो । गोरेटो बाटो निर्माण गर्दा होस् वा कुलो निर्माण गर्दा गाउँमा काम पाइन्थ्यो । गाउँमा रोजगारी थियो । तर अहिले सडक निमार्ण गर्दा, भवन निर्माण गर्दा डोजरले मात्र काम पाउँछ । अर्कोतर्फ पक्की संरचना निमार्ण गर्दा गाउँका युवासँग सिप नहुँदा यस्तो समस्या भएको हो ।’’

वडा नं ६ का बसराज बमले गाउँमा हुने भनेका औंलामा गन्ती गर्ने शिक्षक, अनि विद्यालय जाने १६ वर्षमुनिका किशोर मात्र हुन् । बालवालिकाले फेरी मलामी जानु हुँदैन भन्ने संस्कार भएकाले उनिहरु मलामीमा सहभागी हुने कुरा भएन, त्यसैले पनि महिला जानुको विकल्प नभएको सुनाए ।रास्कोट वडा नं २ का खेमराज फडेराले मलामी मात्र होइन गाउँमा कोही बिरामी हुँदासमेत महिलाले स्टेचर बोक्नुपरेको बताए। यो समस्या रास्कोट मात्र नभएर प्रायः जिल्ला भरीको समस्या हो ।

शुभकालिका गाउँपालिका वडा नं ४ का रमेशकुमार सोनीले आफ्नो गाउँमा कहिलेकाहीं सामूहिक कामका लागि खबर गर्दा महिला मात्र सहभागी हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार