स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ

२०८१ जेष्ठ ३, बिहीबार

दिपायल : दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते स्वास्थ्य उपचारका लागि घरनजिकै सञ्चालन भएको स्वास्थ्य शिविरमा पुगे। विशेषज्ञ डाक्टरसहितको टोलीले पाँच सय रुपियाँमा नयाँ प्रविधिबाट ‘होलबडी’ चेकजाँच गर्नुका साथै उपचार गरिरहेको जानकारी पाएपछि उनी स्वास्थ्य शिविरमा पुगेका हुन्।

काठमाडौँबाट ठुलै डाक्टर आएर बिरामीको उपचार गरिरहेको सामाजिक सञ्जाल फेसबुकबाट थाहा पाएपछि उपचार गर्न गएको उनले बताए ।  “फेसबुकमार्फत काठमाडौँबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि उपचारका लागि शिविरमा गएँ,” उनले भने ।

‘होलबडी’ चेकअप गर्नका लागि पाँच सय रुपियाँ लिइयो तर बिल, रसिद दिइएन । उहाँले भन्नुभयो, “एक मिनेट जति एउटा मेसिनको टुप्पा समात्न लगाइयो र सात पेजको रिपोर्ट हातमा थमाइयो । त्यो रिपोर्ट डाक्टर भूपेन्द्र क्षेत्रीले हेरे र फलफूल साँझ बिहान खान भने । माछा, मासु, अल्कोहल नखान सुझाव दिए ।” डाक्टरले प्रेसरको समस्या बढ्न सक्ने भन्दै त्यसको कन्ट्रोलका लागि एउटा चुम्बकजडित घडीको चेन जस्तो ब्रासलेट दिएको कठायतले बताए । काम नगरे पैसा फिर्ता गर्ने भन्दै सो ब्रासलेटको पाँच हजार लिइयो तर रसिद दिइएन ।

त्यस्तै सायल गाउँपालिकाकी एक महिलाले पनि सोही शिविरमा स्वास्थ्य चेकजाँच गराए। उक्त शिविरको चेकजाँच चित्त नबुझेपछि उनका श्रीमान् तेज डुम्रेलले थप उपचारका लागि सुजङ्ग अस्पतालमा लगे । शिविरमा थाइराइडको समस्या नदेखिएको तर अस्पतालको ल्याब टेस्टपछि देखिएको र डाक्टरले औषधी दिएको जानकारी डुम्रेलले दिए ।

वैशाख २७ बाट सुरु भएको सो स्वास्थ्य शिविर ३० सम्म सञ्चालन भएको थियो । दिपायल सिलगढी नगरपालिका–४ को आयोजना तथा होलिस्टिक इन्स्टिच्युट अफ मेडिकल सोलुसन्स, हिम्स हेल्थ केयर नामक व्यावसायिक फर्मको सहयोगमा सञ्चालित शिविरमा २३० जना बिरामीले स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीलाई पाँच हजार रुपियाँका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइयो । ‘होलबडी’ चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार रुपियाँ असुल गरियो भने ब्रासलेट, एटिएम प्रतिव्यक्तिलाई पाँच हजारको दरले बिक्री गरियो ।

एक जना बिरामीको रिपोर्टमा कुकुरको मासु नखानु भनी लेखिएको भेटियो । डाक्टर भूपेन्द्र क्षेत्री लेखिएको ‘प्रेस्क्रिप्सन’ मा सुरुका दुई दिन हिन्दी र अङ्ग्रेजी शब्द लेखिएको थियो । गुनासो बढेपछि नेपाली र अङ्ग्रेजी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार