परिवारले अन्त्येष्टि गरेर गाडिसकेको शव प्रहरीले ५ दिनपछि निकाल्यो

२०८१ जेष्ठ ३, बिहीबार

बुटवल : परिवारले अन्त्येष्टि गरिसकेको एक महिलाको शव ५ दिनपछि खनेर निकालिएको छ । कोटहीमाई गाउँपालिका– ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएपछि रुपन्देही प्रहरीले फरेन्सिक विज्ञको सहयोगमा मर्चवारस्थित कब्रस्तानबाट शव निकालेको हो ।

रुपन्देही प्रहरीका अनुसार सम्मरीमाई गाउँपालिका वडा नं २ मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको भन्दै जेठ २ गते रुपन्देही प्रहरीमा जाहेरी दिएका थिए । उनले प्रहरीमा दिएको निवेदनमा ‘साहिदालाई उनका श्रीमान् जलालुदिन मुसलमानले विभिन्न तरिकाले पीडित बनाई दुःख दिँदै आएकोमा वैशाख २७ गते रहस्यमयी ढंगले मृत्यु भएको’ उल्लेख गरेका छन् ।

रफिकले मृतकका श्रीमान् र उनका परिवारले माइती पक्षलाई समेत जानकारी नदिई मुस्लिम परम्पराअनुसार सम्मरीमाई– ७ भगैयामा रहेको कव्रस्तानमा लगी दाहसंस्कार गरेकाले आफूलाई शंका लागेको उल्लेख गरेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीले लुम्बिनी प्रादेशिक अस्पतालबाट फरेन्सिक चिकित्सक डा. विप्लव मानन्धरको अनुगमन र निगरानीमा शव निकालिएको हो ।

शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर पोस्टमार्टम गरी परिवारलाई बुझाइएको र घटनाका विषयमा अनुसन्धान शुरू गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार