काठमाडौँ : हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज विशेषगरी पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) हुनेछ भने देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) रहने सम्भावना छ। यस क्रममा दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा (१० मिलिमिटरभन्दा कम) हुने सम्भावना छ।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ।





