सभामुखले कार्यसूची हेरफेर गर्न मानेनन्, आजै विश्वास मत लिँदै मुख्यमन्त्री यादव

२०८१ जेष्ठ २३, बुधबार

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः आजै विश्वासको मत लिन तयार भएका छन्।

केही बेरमा प्रदेश सभामा उनले विश्वास मतको प्रस्ताव राख्ने भएका छन्। जसपा नेपालका सांसद अनिरूद्ध सिंहले मुख्यमन्त्रीले आजै विश्वास मत लिने बताए।

नेकपा (एकीकृत समाजवादी) सँग वार्ता गरेर सरकार टिकाउन सकिने विश्वासमा मुख्यमन्त्री यादवले आफू बिरामी परेको भन्दै विश्वास मत लिने कार्यसूची सार्न सभामुखलाई पत्राचार गरेका थिए।
तर सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर आजै बैठक राखेका थिए।

आजै बसेको पहिलो बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित रहेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो। तर करिब डेढ घन्टा भइसक्दा पनि मुख्यमन्त्री र मन्त्रीहरू नआउँदा प्रदेश सभा बैठक पुन: सुरू हुन सकेको छैन। जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपाले समर्थन गर्ने बताइसकेका छन्।

सरकार टिकाउन ५४ जना सांसदको समर्थन चाहिन्छ तर मुख्यमन्त्री यादवका पक्षमा यी चारवटै दलले समर्थन गर्दा ५० जना मात्रै पुग्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार