
जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।
बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।
१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।