अन्तरजातीय विवाह गर्नेलाई एक लाख नगदसहित सम्मान

२०८१ असार १०, सोमबार

रुकुमपश्चिम : रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने एक जोडीलाई एक लाख नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाको १९ औँ नगर सभाको अवसरमा एक लाख नगदसहित सो जोडीलाई सम्मान गरिएको हो । चौरजहारी नगरपालिका –२ निवासी लोकेन्द्र परियार र रोल्पाको परिवर्तन गाउँपालिका –३ निवासी खुमा के.सी.लाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले ल्याएको अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्तरजातीय विवाह गरी सामाजिक सांस्कृतिक रूपान्तरणका लागि प्रशंसनीय एवम् अनुकरणीय कार्य गरेकाले उनीहरूलाई सम्मान गरिएको छ । उनीहरूले परिवर्तनशील एवम् विभेदजन्य कुसंस्कार अन्त्यका लागि चालेको कदमको उच्च प्रशंसा गर्दै प्रोत्साहन स्वरूप सम्मान गरिएको उनको भनाइ छ ।

उनीहरूलाई नगद, सम्मानपत्र, दोसल्ला र अबिरसहित नगर प्रमुख पुष्प वादी, उपप्रमुख ईश्वरी शर्मा बिएम र निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले सम्मान गरे । गत वर्षदेखि नगरपालिकाले यो कार्यक्रम गर्दै आएको छ । गत वर्ष अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार