वायु प्रदूषणबाट बर्सेनि ५० हजार नेपालीको मृत्यु

२०८१ असार १३, बिहीबार

काठमाडौँ : नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ५० हजार मानिसको मृत्यु हुने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। स्टेट अफ ग्लोबल एअर रिपोर्ट–२०२४ मा वायु प्रदूषणले सन् २०२१ मा नेपालमा ४८ हजार पाँच सय जनाको मृत्यु भएको उल्लेख छ।

यसअघि सोही संस्थाले सन् २०२१ मा प्रकाशित गरेको समान प्रकृतिको प्रतिवेदनमा सन् २०१९ मा नेपालमा वायु प्रदूषणका कारण ४२ हजार एक सय जनाको मृत्यु भएको देखाइएको थियो। यसरी सन् २०१९ को तुलनामा सन् २०२१ मा अर्थात् २ वर्षको अवधिमा वायु प्रदूषणका कारण थप ६ हजार चार जनाको मृत्यु भएको देखिन्छ। नेपालमा घरभित्र हुने वायु प्रदूषणका कारण ३३ हजार ९ सय र घरबाहिरको वायु प्रदूषणका कारण १४ हजार ६ सय जनाको ज्यान गएको पछिल्लो प्रतिवेदनमा जनाइएको छ।

नेपालमा घरभित्र र घरबाहिर हुने वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, मुटुरोग, बालमृत्यु दर तथा मधुमेहका रोगी बढ्दो क्रममा रहेको प्रतिवेदनमा औंल्याइएको छ। हेल्थ इफेक्ट इन्स्टिच्युट एवं हेल्थ मेट्रिक्स एन्ड इभालुयसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा प्रकाशित गरेको उक्त प्रतिवेदनअनुसार धुवाँ र धुलो मिसिएका अत्यन्त साना विषाक्त कण अर्थात् पिएम २.५ का कारण सन् २०२१ मा नेपालमा १२ हजार ७०० जनाको मृत्यु भएको छ। पिएम २.५ को जोखिमका हिसाबले नेपाल विश्वका १० राष्ट्रको सूचीमा छ। यो सूचीमा छिमेकी भारत, बंगलादेश र पाकिस्तानसमेत छन्।

वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २.५ भनेर परिभाषित गरिन्छ। वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग, श्वासप्रश्वास लगायत रोग निम्ताउने गर्छ।

नेपालमा विशेषगरी डिजेल र पेट्रोलले चल्ने सवारी साधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाबाट निस्कने धुवाँ उत्सर्जन, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा निस्कने धुवाँ, विषादीको उच्च प्रयोग, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ। घरभित्रको वायु प्रदूषणको कारक खाना पकाउन प्रयोग गरिने दाउरा र अन्य परम्परागत जैविक इन्धनलाई मानिएको छ।

सिकागो विश्व विद्यालयअन्तर्गत इनर्जी पोलिसी इन्स्टिच्युटले प्रकाशित गरेको ‘एअर क्वालिटी लाइफ इन्डेक्स–२०२३ प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ। तराईका ९ जिल्लामा त सरदर आयु ६.८ वर्षले घटेको आलकन प्रतिवेदनमा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार