
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गर्नुपरेको दाबी गरेका छन् ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूहरूको विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह भएको प्रस्ट्याएका हुन् । उनले विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको स्मरण गराएका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो’, एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीभित्र माग भइरहेका बेला नेपालले विद्रोहबारे पुष्टि गर्ने प्रयास गरेका हुन् ।
त्यसबेला आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै दस्ताबेजमा अध्यक्ष नेपालले भनेका छन्, ‘हामी एकताको पक्षमा थियौँ र नेकपा (एमाले) मै रहन चाहन्थ्यौँ तर अर्को पक्ष नेकपा (एमाले) लाई विभाजन गरिछाड्ने गरी प्रस्तुत भएकाले एकता जोगाउन सकिएन ।’
उनले आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले एकता जोगाउन चाहँदै नचाहेपछि नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गरी पार्टी र आन्दोलनलाई जोगाएर अगाडि बढाउनु कर्तव्य एवं जिम्मेवारी ठानेको बताएका छन् ।