काठमाडौँ : सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३६ ढोका खुला गरिएको छ। साँझ ६ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ३ हजार ८६० क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।
पानीको बहाव बढ्दै जाँदा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमापारिका जिल्लाका डिएम तथा सम्बन्धित निकायसँग समन्वय गरेर ढोका खोल्ने काम भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए। बहाव उच्च भएसँगै सप्तकोशी नदीको बीचमा रहेको गोवरगाढा गाउँका बासिन्दा घेरिएका छन्। गोवरगाढाका स्थानीय अहिले सुरक्षित रहेको र जोखिम देखिए उद्धार गर्ने हनुमान नगर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिए।
कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।





