काठमाडौँ : बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलमा दुर्घटनामा परेको विमान प्राविधिक परीक्षणका पोखरा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। पोखरा विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिएकी हुन्।
तर काठमाडौँबाट उड्नासाथ सो एयरलाइन्सको ९ एन एएमई जहाज आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। पाइलट मनीषरत्न शाक्यलाई मात्र घाइते अवस्था उद्धार गरिएको हो। उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।
“जहाजमा कुनै खराबी आएर नभई निश्चित घण्टा उडेपछि नियमित तालिकाअनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उनले भनिन्, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ।”





