काठमाडौं : काठमाडौं महानगरपालिकाको नजिकै सडक भासिएपछि मेयर बालेन शाहले खोलामाथि घर र बाटो बनाउन नहुने बताएका छन ।
गएराती टुकुचामाथि बनाइएको सडक भासिएको थियो । उनले खोला मिचेर घर र सडक बनाइएको बताए । बालेनले खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’
मेयर बालेनले केही समयअघि खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताउँदै त्यसमा अदालतका कारण रोकिनु परेको लेखेका छन् । अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको उनले बताएका छन ।






