जापानिज स्टार होन्डा नेपालमा

२०८१ श्रावण २७, आईतवार

काठमान्डौ : जापानबाट सन् २०१० देखि लगातार तीन फिफा विश्वकप खेलेका ३८ वर्षीय केसुके होन्डालाई भुटानको पारो एफसीले समावेश गरेको छ, उनी एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपाल आएका छन्

जापानबाट तीनपटक फिफा विश्वकप तथा युरोपियन लिग खेलिसकेका स्टार खेलाडी केसुके होन्डा नेपाल आएका छन् । एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न होन्डासहित भुटानको पारो फुटबल क्लब शनिबार नेपाल आइपुग्यो । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज र पारोले प्रारम्भिक छनोट मंगलबार दशरथ रंगशालामा खेल्दै छन् ।

यो खेलको विजेता सीधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । एसियन फुटबल महासंघ (एएफसी)ले ड्र सार्वजनिक गर्दा पारो र चर्च ब्वाइज भिड्ने पक्का भएको थियो । क्लब र देशको वरीयता आधारमा नेपाल माथि रहँदा पारो नेपाल खेल्न आउनुपर्‍यो । यसअघि पनि पारो नेपालमा छनोट खेल्न आएको थियो । तर, एएफसी कप छनोटको प्रारम्भिक चरणमा पारो मच्छिन्द्र फुटबल क्लबसँग पराजित भयो । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राईसहितका पदाधिकारीले होन्डासहित पारोको टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ३८ वर्षीय होन्डाले भुटानको लिगमा पारोबाट एक खेल मात्रै खेलेर नेपाल आएका हुन् ।

तीनपटक विश्वकप खेलेका होन्डा
जापानिज स्टार होन्डाले तीनपटक विश्वकप खेलेका छन् । अट्याकिङ मिडफिल्डरले जापानबाट सन् २००८ देखि २०१८ सम्म खेल्दा ९८ खेलमा ३७ गोल गरे । उनले जापानबाट सन् २०१०, २०१४ र २०१८ को विश्वकप खेले । इटालियन सिरी ए को एसी मिलानबाट सन् २०१४ देखि सन् २०१७ सम्मको सिजन खेलेका छन् । यसक्रममा ८१ खेलमा ११ गोल गरे । उनले जापानसँगै रसिया, मेक्सिको, अस्ट्रेलियालगायतका लिग खेलेका छन् । तर, पछिल्लोपटक घुँडाको एसिएल गएपछि उनी तीन वर्ष मैदानबाहिर भए । हालै रिकभरीपछि पारोमा आबद्ध भएका हुन् । ‘एसिएलको रिकभरीपछि मैदान फर्किएको छु । मैले पूरा ९० मिनेट भुटानको लिग खेले,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मच्छिन्द्रलाई हराउने दाउमा पारो
यसपटक लिगमा जति पनि विदेशी खेलाडी खेलाउन पाउने भएपछि पारो स्टार खेलाडीलाई टोलीमा समावेश गर्दै मच्छिन्द्रलाई घरमै हराउने योजनामा छ । उसले होन्डासँगै नेपालमा एनएसएल खेलेका स्तरीय खेलाडी समावेश गर्‍यो । भुटानको लिगमा शीर्ष स्थानमा रहेको पारोले कुल १२ विदेशी खेलाडी आबद्ध गर्दै टिम मजबुत बनाएको छ । ‘एएफसीको नियमअनुसार हामीले धेरै विदेशी खेलाडी राखेका छौँ । राष्ट्रिय टोलीका खेलाडी पनि छन्,’ पारोका प्रशिक्षक पुष्पलाल शर्माले भने, ‘होन्डाको आगमनले टिमको आत्मविश्वास बढेको छ । चर्च ब्वाइजलाई नजिकबाट नियालेका पनि छौँ । हामी यहाँ जित्न आएका छौँ ।’ शर्मा एएफसी प्रो लाइसेन्स उत्तीर्ण गरिसकेको प्रशिक्षक हुन् ।

स्मरणीय यात्रा बनाउने योजनामा चर्च ब्वाइज
लगातार सहिद स्मारक डिभिजन लिगमा उपलब्धि हासिल गरेको चर्च ब्वाइज पहिलोपटक एएफसीको प्रतियोगिता खेल्दै छ । टोली यो प्रतियोगितालाई स्मरणीय बनाउने योजनामा छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी समावेश गरेको चर्च ब्वाइजको प्रशिक्षकमा अनुभवी बालगोपाल महर्जन छन् । टोली पारोलाई हराउँदै समूहमा स्थान बनाउने योजनामा छ । तर, अत्यधिक विदेशी खेलाडी पारोले मैदान उतार्ने भएपछि चिन्ताको विषय अर्काे बनेको छ । चर्चले जम्मा तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्योबाहेक सबै खेलाडी उमेर समूह र राष्ट्रिय टोलीका छन् । ‘हामी पारोलाई हराउने योजनामा छौँ । पहिलोपटक एएफसीको प्रतियोगिता खेल्दा यसलाई स्मरणीय बनाउन लाग्छौँ,’ प्रशिक्षक महर्जन भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार