काठमाडौँ : सर्वोच्च अदालत घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबाइदुल हसनले राजीनामा दिएका छन्। आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गरेको समाचार संस्था एपीले जनाएको छ।
विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरी पदबाट हट्न माग गरेसँगै प्रधानन्यायाधीश हसनले राजीनामा दिएका हुन्।
पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा हुनेगरी प्रधानन्यायाधीश हसनले काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरेर शनिबार दिउँसो १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम दिएका थिए। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी १७ सदस्यीय अन्तरिम सरकार बिहीबार गठन भएको थियो।
यसैबीच प्राप्त समाचारअनुसार बंगलादेशका राष्ट्रपतिले त्यहाँको नयाँ प्रधानन्यायाधीशमा सइद रेफात अहमदलाई नियुक्त गरेका छन्।





