काठमाडौं : डा.बाबुराम भट्टराईले माओवादी छोडेपछि ९ वर्षदेखि चुनौतीरहित देखिएका पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ ।
पेरिसडाँडामा २५ साउनदेखि जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डलाई सम्मानजनक बहिर्गमनको आग्रह गरेका छन् । प्रचण्डले अहिलेसम्म पुर्याएको योगदान स्थापित गर्न र पार्टी निर्माणका निम्ति नेतृत्व परिवर्तन आवश्यक रहेको शर्माको प्रस्ताव छ ।
नेकपा माओवादी केन्द्रको नेतृत्व परिवर्तनबारे दुई उपमहासचिव एकठाउँमा उभिएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन एकठाउँमा उभिएका हुन् । उनीहरु दुबैले अव प्रचण्डको विकल्प खोज्नुपर्नेमा जोड दिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा शर्माले लिखित प्रस्ताव नै पेश गरेका थिए । सो प्रस्तावमा उनले प्रचण्डको नेतृत्व परिवर्तनबारे तीन विकल्प अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् ।
यस्तै पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने विचार राखे । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार पुनले एक वा दुई कार्यकाल अध्यक्ष बन्ने गरी विधानमै तोकिनुपर्ने बताए ।





