सभामुख घिमिरे सरकारको निर्देशनमा चले : रास्वपा

२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सभामुख देवराज घिमिरेलाई सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसदहरूले सभामुख घिमिरेले सरकारको निर्देशनमा आफूहरूको आवाज दबाउन लागेको आरोप लगाएका हुन् ।बैठकको आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले विद्युत प्राधिकरणले उठाउनुपर्ने बक्यौता रकमका बारेमा बोल्दैगर्दा सभामुख घिमिरेले विषय केन्द्रित नभएको भन्दै बोल्न रोक लगाएका थिए । त्यसपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) समेतका सांसदहरूले बैठक अवरोध गरेपछि सभामुखले सांसद ढकाललाई बाँकी कुरा राख्न दिएका थिए । यसै प्रकरणलाई लिएर रास्वपा सांसदहरूले सभामुखको भूमिकाप्रति आशंका व्यक्त गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद हरि ढकालले भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक विषय भएको बताए । उनले आफूले विद्युतको बक्यौता महसुल उठाउनुपर्छ भन्न लाग्दालाग्दै सभामुखले माइकको लाइन काट्नुभएको भन्दै संसदमा महसुल उठाउनुपर्छ भन्न नपाइने हो भनी प्रश्न गरे । उनले भ्रष्टाचारको विषय संसदमा उठाउन खोज्दा सभामुखबाट माइक काटिनु आपत्तिजनक भएको बताए ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका सांसद गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारले दिएको निर्देशन लागू गर्न लागेको आरोप लगाए । उनले आफूहरूलाई दुई तिहाइको सरकारले दम्भ देखाउने कोसिस गरेको भान भएको बताए । उनले सभामुखले आफ्नो पदीय मर्यादा र सांसदहरूको अधिकारको समेत ख्याल नगरी सांसदलाई बोल्न नदिइएको बताए ।

उनले जनप्रतिनिधिबाट संसदमा मुखरित हुने जनताको आवाज दबाउन खोजिएको भन्दै रास्वपाको संसदमा उपस्थित हुन्जेलसम्म आवाज नदब्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार