काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग यही भदौ ७ गते बयान लिने तयारी गरेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले भदौ ७ गते बयानका निम्ति बोलाउन लागेको हो । “समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले हाम्रोदेशलाई जानकारी दिए ।
उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् ।





