काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु प्रतिवाद गर्न तयार रहेको बताएको हो ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्ने बताए । उनले १८ महिना अगाडीको प्रकरण अहिले निकालिएको भन्दै अहिले निकाल्नुको कारणबारे सत्तारुढ दलहरुलाई प्रश्न गरे ।
उनले भने, ‘१८र१९ महिना पहिला एउटा पत्रमा उहाँको हस्ताक्षर देखियो जुन पत्र सम्बन्धित मन्त्रालयमा दर्ता पनि भएको छैन । सम्बन्धित ठाउँमा पुगेको पनि छैन । भिसाको लागि अनुरोध पत्र थिएन । अन्तर्वाताको लागि अनुरोध पत्र थियो । त्यतिखेर कार्यक्रमको समय धेरै नजिक आइरहेको थियो त्यसैले म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वाताको समय दिनसक्छौँ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो । जुन गलत भयो फेरि । त्यसमा हामीले सही थियो । कुनै गल्ती थिएन भनिरहेका छैनौँ । त्यो दुरुपयोग भएको हो । तर त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर किन राखियो ? एउटा प्रश्न हाम्रो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर लुकाएर राखिएको होला नि । यदि गलत थियो भने त १८ महिना अगाडी नै गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यसैले उहाँहरुको इमान्दारितामा र दाउपेचमा प्रश्न । नयाँ गठबन्धन बनेपछि यो सान्दर्भिक भएको हो ? त्यो बेला सान्दर्भिक थिएन भन्ने हाम्रो प्रश्न हो ।’
उनले आफूहरु सत्तारुढ दलहरुको आगामी कदमहरुलाई नियालिरहेको भन्दै उनीहरुको कदम अनुसार आफ्नो कदम निर्धारण गर्ने बताए ।उनले भने, ‘उहाँहरुले कस्तो कदम लिनुहुन्छ त्यस अनुसार छलफल गर्नेछौँ । पर्ख र हेर को अवस्थामा छौँ । तर अर्को कुरा सरोकार छ, आक्रामक रुपमा हामी तयार छौँ । आएको परिस्थितिलाई कसरी सामना गर्ने, त्यसलाई कसरी प्रतिकार गर्ने र कसरी त्यसमा हामीले कार्य गर्ने भन्नेकुरामा पूर्ण तयारी र सरोकार छ ।’
उनले आफूहरु उपसभामुखको रक्षाका निम्ति तयारी अवस्थामा रहेको बताए ।





