काठमाडौँ : नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीबारे दिएको विवादित अभिव्यक्तिको पार्टीलाई स्पष्टीकरण दिएका छन् । पार्टी महासचिव घनश्याम भूसालले चौधरीलाई २७ भदौमा तीन दिनभित्र लिखित स्पष्टीकरण सोधेका थिए ।
आइतबार स्पष्टीकरण बुझाउँदै चौधरीले बोल्ने क्रममा आफ्नो जिब्रो चिप्लिएको उल्लेख गरेका छन् । ‘मेरो आशय त्यस्तो होइन । म आफै रहेर संसदबाट पारित भएको चुच्चे नक्साविरुद्ध उभिने कुरै भएन’, चौधरीको स्पष्टीकरण उधृत गर्दै पार्टी कार्यालयका सचिव समेत रहेका रामकुमार भट्टराईले भने, ‘त्रुटि भएको भए क्षमयाचना चाहन्छु । म अखण्ड नेपालको पक्षमा छु र रहन्छु ।’
चौधरीले केही दिन पहिला कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग भारतको हक लाग्छ भन्ने अभिव्यक्ति दिएका थिए । चौधरीले स्पष्टीकरण दिएपछि उनलाई पार्टीले सफाइ दिने तयारी गरेको एक नेताले बताए ।
‘कहिलेकाहीँ बोल्दा जिब्रो चिप्लिनु स्वाभाविक हो । उहाँले गल्ती भयो भनेर महसुस समेत गरिसक्नुभयो । अव उहाँलाई सफाइ दिँदा नै राम्रो हुन्छ भन्ने छ’, ती नेताको भनाइ छ ।