काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन्। प्रदेश संरचना आवश्यक नरहेको टिप्पणी भइरहेका बेला उनले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको धारणा राखेका हुन्।
पार्टीको कानुन विभागले मंगलबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको संविधानको एक दशकः कार्यान्वयन र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै सभापति देउवाले प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए।
‘प्रदेश सरकार, प्रदेश संरचना बनिसकेको छ। अब यो प्रदेश संरचना हटने कुरा छैन हेर्नुस्। यो हटाउन सक्ने स्थिति पनि छैन,’ देउवाले भने, ‘यसलाई कसरी अझ उत्तरदायी बनाउने, कसरी यसलाई अझ बढि एकाउन्टेबल बनाउनेदेखि लिएर सारा कुराहरूको सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्ने कुराहरू हुन सक्दछ।’
प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्नुपर्ने सभापति देउवाको भनाइ थियो। उनले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए। महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको सभापति देउवाले बताए। उनले कांग्रेस एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरु कुनैपनि हालतमा प्रजातन्त्रको खिलापमा हुनै नसक्ने पनि दोहो¥याए।
‘सधैँ कति समानुपातिकबाट ल्याउने? त्यो पनि समस्या छ हेर्नुस्। अब कतिलाई समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। आवश्यकता छ। कति समुदायलाई चुनाव आफै जित्न गाह्रो छ उहाँहरूलाई। त्यो स्थिति बनाउन समय लाग्दछ,’ देउवाले भने, ‘जबसम्म त्यो स्थिति बन्दैन नेपालमा, तबसम्म समावेशी राजनीति आवश्यक छ। समानुपातिकका सम्बन्धमा अझै बढी केही कुराहरू छ। तर समावेशीको खिलापमा जनमत छैन हेर्नुस्।’ साथै, संविधान संशोधन हुनसक्ने बताएको भन्दै उक्त विषय प्रजातन्त्रको विपक्षमा नजाने पनि बताए।
‘ओलीजी प्रधानमन्त्री हुँदाखेरी उहाँले संविधान संशोधन गर्नसक्ने कुरा भन्नुभएको छ। त्यो फेरि प्रजातन्त्रको खिलापमा होइन फेरि। प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने संशोधन हुने कुरा हुन सक्दछ। त्यसै अनुसार ठान्नु पर्दछ। त्यसैकारण हामीसँग प्रजातन्त्रको लागि लडेको पार्टी हो,’ देउवाले भने।